
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउन सक्ने मार्ग कोरिएको बताएकी छन्। हालै सम्पन्न महाधिवेशनमा उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधिको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी हुन्।
‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ,’ उनको विज्ञप्तिमा उल्लेख छ।
नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको संघर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्। गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रेरित रहेको जनाउँदै उनले पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएकी छन्।
नेत्री कोइरालाले उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेकी छन्।

