जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार २५० कोरोना खोप

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडालाई उनले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन्। तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन्। हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए ।



मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइन्। उनका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ। यस्तै, जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ ।

 

सम्बन्धित समाचार