लिभरपुल विजयी हुँदा चेल्सी बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३-१ ले पराजित गर्यो भने चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा खेलको सातौं मिनेटमा न्युकासलका जोन्जो शेल्भीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको २१ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको २५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टिमको अग्रता २-१ बनाए ।



लिभरपुल

पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफको ८७ औं मिनेटमा ट्रेण्ड एलेक्सजेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए । जितसँगै लिभरपुल १७ खेलमा ४० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने १० अंक जोडेको न्युकासल १९ औं स्थानमा रहेको छ । त्यसैगरी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा एभर्टनका जारार्ड ब्रान्थवेटले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो ।

चेल्सी

बराबरीसँगै चेल्सी १७ खेलमा ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने १९ अंक जोडेको एभर्टन १४ औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार