नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।
साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भुटानसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।
खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ । नेपाल भुटानविरुद्धको खेल जित्दै फाइनल प्रवेश गर्ने सम्भावना कायमै राख्ने योजनामा रहेको छ । त्यस्तै भुटान पनि जित निकाल्ने योजनामा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।
प्रतियोगितामा २ खेल २ जित हात पर्दै भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने बंगलादेशले र नेपालले समान २ खेलमा १ जित र १ बराबरी खेल्दै ४ अंक जोड्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यस्तै भुटानले ३ खेलबाट ३ अंक जोडेको छ भने लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।
पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले अब अन्तिम खेल आइतबार भारतसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।