
नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी गर्दै अध्यक्ष केपीओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्धरुपमा आरम्भ गरिसकेको जनाएका छन् ।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो । अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ ।
दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो। ‘हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ’ एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।
ओलीले जारी गरेको पहिलो अन्तर पार्टी निर्देशनमा (अपानि) ‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ, उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ’ भनिएको छ । त्यस्तै ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने बताएका छन् ।
यस्तै एमालेले जारी गरेको अपानिमा विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज तोक्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो । अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।
कसले के जिम्मेवारी पाए ?
उपाध्यक्ष युवराज ज्ञवाली : प्रदेश र स्थानीय तह संयोजनको जिम्मेवारी
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय संयोजनको जिम्मेवारी
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ : कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मेवारी
उपाध्यक्ष विष्णुप्रसाद पौडेल : पार्टीको सांगठानिक कामको अनुगमनको जिम्मेवारी
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ : संसदीय मामिलाको जिम्मेवारी
उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे : राजकीय मामिलाको को जिम्मेवारी
महासचिव शंकर पोखरेल : सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी
उपमहासचिव प्रदीप ज्ञवाली : पार्टी स्कुल विभागको जिम्मेवारी
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ : प्रचार तथा प्रकाशन विभागरप्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा
उपामहसचिव विष्णु रिमाल : निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी ।
एमालेको अपानिको लागि यो लिंक खोल्नुहोला
:https://drive.google.com/file/d/1SJbt0IPeqD7ZFCw8OT7emGXzlgWBdas3/view

