भुटानविरुद्ध नेपालको शानदार जित

नेपाल फाइनल नजिक

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा नेपालको लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै मेनुकाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको १८ औं मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।



यस्तै खेलको २१ औं मिनेटमा रजनीको गोल मार्फत नेपाल ३–० ले अघि रह्यो । पहिलो हाफ ३-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले थप १ गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७२ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई ४-० को शानदार जित दिलाइन् ।
जितसँगै नेपाल तीन खेलमा २ जित र १ बराबरी सहित ७ अंक जोड्दै फाइनल नजिक पुगेको छ भने चार खेलमा १ जित निकालेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी आयोजक बंगलादेशको पनि ३ खेलमा सात अंक रहेको छ भने भारत तीन खेलमा २ जित र एक हारसँगै ६ अंक जोडेको छ । नेपालले अब चौथों खेल भोलि (आइतबार) भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको यात्राको टुंगो लगाउनेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

 

सम्बन्धित समाचार