नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।
सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १०औँं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १६औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कुनै टोलीबाट गोल नहुँदा दुवै टोलीले अङ्क बाडेका छन् । बराबरीसँगै पाँच खेलबाट नौ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत भने पाँच खेलमा आठ अङ्क जोड्दै सातदोबाटो लिगको पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्र र संकटा क्लबले बराबरी खेलेका छन् ।
बराबरीसँगै मछिन्द्र ५ खेलमा ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने पाँच खेलमा ९ अंक जोडेको संकटा चौथोम स्थानमा उक्लिएको छ ।