नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज (आइतबार) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सदन सुचारु गर्ने लगायत समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । उक्त भेटमा दुई नेता सर्वदलीय बैठक बोलाउन सहमत भएका थिए ।

