नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको लागि बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
यसअघि गत असोज १४ गते बसेको सर्वदलीय बैठकमा पनि एमालेको उपस्थिति थिएन । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बोलाइएको बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । यसअघि गत शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सदन सुचारु गर्ने लगायत समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । उक्त भेटमा दुई नेता सर्वदलीय बैठक बोलाउन सहमत भएका थिए ।

