नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताएकी छिन् । उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने गरेको उल्लेख गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किरात समुदायको यो चाडले नेपालीको मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको सन्देशमा उल्लेख गरेकी छिन् ।
उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको महान् चाड उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । उँधौलीको अवसरमा एक सन्देश जारी गर्दै उनले नेपालको उच्च पहाडी भू–भागमा ठूलो सङ्ख्यामा बसोवास गर्ने किराँत समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली चाडको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।
‘भूमिको श्रद्धासाथ पूजा–अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवान्लाई धन्यवाद दिँदै आउँदो वर्ष राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ,’ सन्देशमा भनिएको छ, ‘यसले किराँत सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ ।’ किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमिपूजाका रूपमा पनि लिइने सन्देशमा उल्लेख छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याख्खाहरूको महान् चाड उँधौली चाड हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसाथ मनाउने गरिन्छ ।
चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन् । उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरेका छन् ।
सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने का अवसरमा यो चाड मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त गरेका छन् । यो चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार मानेर साकेला सिली नाच्ने चलन छ । उधौली हिमाली र उच्च पहाडी भागबाट पशुपन्छीसहित बेसी भागमा सर्ने समय पनि हो ।
सभामुखले नेपालसहित विश्वव्यापीरुपमा देखापरेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

