नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत चौथों तथा समूह चरणको अन्तिम खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।
खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । नेपाल भारतविरुद्धको खेल जित्दै फाइनल प्रवेश गर्ने योजनामा रहेको छ । त्यस्तै भारत पनि जित निकाल्ने योजनामा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भारतविरुद्ध जितको आवश्यक छ ।
नेपाल ३ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोड्दै शीर्ष स्थानमा छ भने ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।