नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । आज (आइतबार) भएको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६७ औं मिनेटमा भारतको लागि पी नावरेमले गोल गर्दै भारतलाई १-० को जित दिलाइन् । भारतसँग पराजित भएसँगै नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना न्यून भएको छ ।
फाइनल प्रवेशका लागि भारतसँग नेपालले बराबरी खेले पनि पुग्थ्यो । अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ । बंगलादेश पराजित भएमात्र नेपाल फाइनलमा प्रवेश गर्नेछ । यदि बंगलादेशले बराबरी वा जित निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । भारत चार खेलमा ३ जित र १ हारसहित ९ अंक जोड्दै अन्तिम दुईमा पुगेको छ भने ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित नेपालले सात अंक जोडेको छ ।
नेपालले पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।