नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमसीसीबारे छलफल भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आ-आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको धारणा राखे ।
‘एमसीसीबारे दलका नेताहरूले आफ्ना धारणा राख्नुभयो। आशंका पनि आए, निरन्तर छलफल गरेर एमसीसीबारे निष्कर्षमा पुग्छौं’ बैठकपछि पत्रकारहसँग उनले भने । एमसीसी को विषयमा सत्ता गठबन्धका दलहरुबीच विवाद भएको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संशोधन गर्नुपर्ने राय व्यक्त गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता महासचिव बेदुराम भुसालले पनि सम्झौता संशोधन गर्नुपर्ने बताए ।
यसैगरी नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको थिए । बैठकमा सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए भने बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्ने बताएको सुवालले जानकारी दिए ।
यस्तै राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी अनुमोदन नगर्ने पक्षमा रहेको सुवालले बताए । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको थियो । यद्यपि बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भने सहभागिता रहेको थिएन ।

