
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसको खाली सटरभित्र पाँचथर घर बताउने ज्यालादारी काम गर्ने २७ वर्षीय सन्देश राई सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी नुवाकोट, लिखु गाउँपालिका-३ पट्टाबारी बस्ने ५५ वर्षीय ऋषि कुँवर सोही ठाउँस्थित हनुमानथान जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत मंसिर २५ गते बिहान घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
त्यस्तै भक्तपुर, मध्यपुरठिमी नगरपालिका-९ निकोशेरास्थित विश्वकृष्ण धौबन्जारको खाली कच्ची घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी आएर ढोकाको चुकुल नलगाई सुतेको अवस्थामा उनी मृत फेला परेका हुन् । यस्तै रुकुम (पश्चिम), मुसिकोट नगरपालिका-२ रातामाटा बस्ने ३० वर्षीय बिजय परियार सोही नगरपालिका-१ पातीहाल्नेस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी (पूर्व), सरावल गाउँपालिका-६ घर भई हाल कावासोती नगरपालिका-१७ गोछडा डेरा गरी बस्ने ५२ वर्षीय वीरेन्द्र कुमार चौधरी आफ्नै कोठामा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् । उनी सोही ठाउँस्थित सरस्वती उमाविका शिक्षक भएको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
