नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

ती वृद्ध होम आइसोलेसनमा रहेको र उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको मिश्राले बताइन् । यो सँगै नेपालमा  तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ३०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ९ हजार ३५९ जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार १८५ रहेको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ ।

 

सम्बन्धित समाचार