
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । आज (बिहीबार) एक वक्तव्य जारी गर्दै रञ्जुले पार्टीमा पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’ रञ्जुले वक्तव्यमा भनेकी छिन् । ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ,’ उनले पत्रमा लेखेकी छन् ।
उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन् । पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकिने देखिएको उनको भनाइ छ ।
‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर प्रवेश गरेकी व्यक्ति हुँ । अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिश गरेँ तर पूर्णरुपले सफा गर्न असमर्थ रहेँ’, उनले पत्रमा लेखेकी छिन् ।
त्यस्तै उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् । यसअघि रविन्द्र मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

