
काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३३ वर्षीय जिवन थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी धादिङ, निलकण्ठ नगरपालिका-४ थापागाउँ बस्ने ३५ वर्षीय राम बहादुर गिरी सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् भने मोरङ, केराबारी गाउँपालिका-१० हाटखोला बस्ने ६२ वर्षीय लोक बहादुर सार्की सोही ठाउँस्थित झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । बजार जान्छु भनि मंगलबार दिउँसो घरबाट हिँडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त झाडीमा उनको
शव फेला परेको हो ।
त्यस्तै खोटाङ, साकेला गाउँपालिका-१ सेखुवा बस्ने ६० बर्षीया इन्द्र कुमारी राईको आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । घरमा कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्न क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस्तै काठमाडौं महानगरपालिका-२४ वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-३ मायादेवीस्थित झाँडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता कास्की, पोखरा महानगरालिका-९ पृथ्वीचोकस्थित लमजुङ होटलको कोठा नम्बर १०५ मा ना.६ ख ४९७६ नम्बरको बसको सह-चालक इलाम सूर्योदय नगरपालिका-१३ घर भई हाल झापा धुलाबारी बस्ने ३५ वर्षीय पारस बान्तावा राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त होटलमा राई मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बस चालक समेत २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी काभ्रे, पनौति नगरपालिका-१२ कलाति भूमिडाँडा बस्ने ६२ वर्षीय अम्बर बहादुर तामाङ घर नजिक रहेको कलाती खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
