
‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । उनको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो ।
शोभराजको मुद्दामा न्यायाधीश सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् । बुधबार चार्ल्सले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
शोभराजलाई थुनामुक्त नगर्नुपर्ने कुनै कारण भए महान्यायाधीवक्तलाको कार्यालयमार्फत तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई सर्वोच्चले भनेको छ ।यसअघि पनि चार्ल्सले आफू ७० वर्ष भएको भन्दै कैद मिनाहाका लागि धेरै निवेदन दिएका छन् । कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । तर, विदेशी नागरिकको हकमा भने यो नियमावलीले केही बोलेको छैन ।
काठमाडौँ र भक्तपुर जिल्ला अदालतले शोभराजलाई फरकफरक मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो । उनले ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या गरेको अभियोग लागेको छ । शोभराजमाथि नेपालबाहेक भारत, थाइल्याण्ड, इरान, टर्कीलगायत देशमा २० बढी मानिसको हत्या अभियोग लागेको छ ।

