बस्ती आसपास देखिन थाले बाघ, स्थानीयवासी त्रसित

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासीको नवलपुर विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले विहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् ।



गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पुर्याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरी निकुञ्जमा लैजान डिभिजन वन कार्यालयमार्फत पत्राचार गरिसकेको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

सम्बन्धित समाचार