नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।

नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ ।नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार बैठकमा कुनै विवाद भएन् ।
पार्टी सभापतिमा उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेपछि स्वतः केन्द्रीय सदस्य भएका डा शेखर कोइराला बैठकमा सहभागी भएनन्। शनिबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेताहरु नवनिर्वाचित पदाधिकारीसँग सभापति देउवाले छलफल गरेका थिए । सो छलफलमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयताका विषयमा पनि छलफल भयो ।
सभापति देउवाले आफ्ना प्रतिस्पर्धी डा शेखर कोइरालालाई वरीयतामा निकै तल राखिने जानकारी गराए । उनको यो प्रस्तावको नवनिर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले विरोध जनाए । शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्दा गरिएको मान्युटमा डा कोइरालाको वरीयता २० औँ नम्बरमा राखिएको थियो । यो वरीयताका विषयलाई लिएर डा कोइराला समूहले कडा विरोध जनाउने तयारी गरेको छ ।
कांग्रेसमा सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई माथिल्लो वरीयतामा राख्ने परम्परा छ । १० औँ महाधिवेशनमा सभापतिमा पराजित भएका देउवालाई तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला, वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईपछि तेस्रो वरीयतामा राखिएको थियो । १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवालाई सभापतिपछि दोस्रो वरीयतामा राखिएको थियो । १३ औँ महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेललाई सभापतिपछि दोस्रो वरीयतामा राखिएको थियो ।

