नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।
२६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।
उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।
उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ। उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल र ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
