नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल श्रीलंकासँग ६० रनले पराजित

युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत दोस्रो खेलमा पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

युएईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउदै ३२२ रन बनाएको थियो । उसका लागि सदिशा राजपाक्षेले १३१ र चामिन्दु विक्रमासिंगेले १११ रनको शतकीय पारी खेले भने कप्तान दुनिथ वेलालागे ३४ रनमा अविजित रहे । नेपालका लागि आदील आलमले २ विकेट लिए भने देव खनाल र विवेक यादवको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल समूह चरणबाटै बाहिरियो
फोटो एसीसी


३२३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४७ ओभर ५ बलमा अलआउट हुँदै २६२ रनमात्र बनायो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई पहिलो जित दिलाउन सकेनन् । त्यस्तै विवेक यादवले ४६ रन बनाई आउट भए भने बसिर अहमेदले ४३ रन बनाए । श्रीलंकाका लागि रभिन डी सिल्भा र मथिसा पाथिरानाले समान ३-३ विकेट लिए ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आगामी मंगलबार कुवेतसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ भने श्रीलंका २ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । यस समूहबाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

सम्बन्धित समाचार