नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।
शेरबहादुर देउवासँग पराजित डा कोइराला स्वत केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गर्दै डा कोइरालालाई २० औँ नम्बरमा राखेका छन् । कांग्रेस विधानमा वरीयताबारे स्पष्ट व्यवस्था नभए पनि सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएको केन्द्रीय सदस्य दोस्रो वा तेस्रो वरीयतामा रहँदै आएको परम्परा छ । तर, देउवाले यो पटक परम्परा भत्काउँदै डा कोइरालालाई २० औँ वरीयतामा राखेपछि विवाद उत्पन्न भएको छ ।
वरीयताकै कारण डा कोइरालाले शनिबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठक नै बहिस्कार गरेका थिए । सोमबार विराटनगरमा डा कोइरालाले कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने तर्क गरे ।

