नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि आजदेखि समूहगत छलफल सुरु भएको छ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको हो ।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ । प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्चमा एमके प्रसाईंलाई संयोजक तोकिएको छ भने सल्लाहकार समितिको २ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।
यस्तै प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् । सातै प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।
त्यसैगरी प्रवास समितिमा पनि दुई दुई वटा समूह बनाइएको छ । जसको संयोजकमा लक्ष्मण पन्त रहेका छन् । यता केन्द्रीय विभागमा संयोजकमा मायाप्रसाद शर्मा रहेकी छन् र यो पनि दुई समूह बनाईएको छ । प्रदेश समूह संयोजकमा जगत शिंखडाले रहेका छन् । यसैगरी सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, जनवर्गीय मोर्चाहरुको समूहको संयोजकमा अमृता थापा तोकिएकी छिन् । यस्तै पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ तोकिएका छन् ।
त्यस्तै देव गुरुङले प्रस्तुत गरेको माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।
समूहगत छलफलका लागि केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन् । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

