
प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।
लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन् ।
देउवाले ट्विटरमा भनेका छन्, ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’मा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई ।’
मंगलबार बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । पहिलो सेटमा २५-२४ ले जितेको नेपालले दोस्रो सेटमा उज्वेकिस्तानसँग २५-२४ ले पराजित हुन पुग्यो । त्यस्तै तेस्रो सेटमा नेपाल २५-१५ ले आफ्नो पक्षमा पार्दा चौथों सेट उज्वेकिस्तानले २५-२२ ले जितेपछि खेल २-२ को अवस्था पुग्यो । तर, अन्तिम तथा निर्णायक सेटमा उज्वेकिस्तानलाई १५-१० ले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।
नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । जितसँगै नेपालले लगातार दोस्रो पटक सेन्ट्रल जोनको महिलातर्फको उपाधि जितेको हो ।प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो ।
प्रधानमन्त्रीको ट्विट :

