
मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले त्रिभुवन राजपथ अवरुद्ध भएको छ । आज (बुधबार) भएको हिमपातले गर्दा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो ।
उनले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
