
नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि २५ समूहले समूहगत सुझाव प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
आज (बुधबार) दिउँसो १:३० बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले सुझाव प्रस्तुत गरेका हुन् । प्रत्येक समूह लिडरलाई १५ मिनेको समय दिइएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए । बुधबार २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्षले जवाफ दिने हुन सक्ने उनले बताए । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
पदाधिकारीमा भने सहमति नजुटेकोले पछि चयन हुन सक्ने बताइएको छ । बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ। टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ। बन्दसत्रमा नेता राम कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थिए । गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

