
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काठमाडौंमा जारी ८ औं महाधिवेशनमा आज समूह नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीति प्रतिवेदनमाथि भएको छलफलका निष्कर्षहरू सुनाइरहेका छन्। आज बोल्ने समूह नेताहरूले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणालीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने सुझाव दिएका छन्।
अहिलेसम्म रामनारायण बिडारी, गायत्री गुरूङ, टंक राई, अजम्बर काङबाङ र सत्यनारायण भगतले आफ्नो समूहमा भएका छलफलको निष्कर्ष बन्द सत्रमा सुनाएका छन्। यसक्रममा प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव आएको छ ।
उनीहरूले पार्टीभित्र आचरण, संस्कृति, वर्ग उठान, एनजिओको बारेमा स्पष्ट दृष्टिकोण, प्रत्यक्ष कार्यकारी, सरकारमा सहभागी हुने हरूको आचरणको विषय, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने सुझाव दिएका छन्।
पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर हामीले लिनेगरी दस्ताबेजमा प्रष्ट उल्लेख गर्नुपर्ने निष्कर्ष पनि निकालिएको छ।
माओवादी केन्द्र र एमाले एक भएर बनेको नेकपा नेतृत्वको सरकार हुँदा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो।
माओवादी महाधिवेशन प्रतिनिधिहरूले विश्व कम्युनिस्ट आन्दोलनबारे छोटो चर्चा गरेर साम्राज्यवादविरूद्व एउटा विश्व मोर्चा खडा गर्नुपर्ने र साम्राज्यवादी उत्पीडनको ठोस रूप के हुन दस्तावेजमा स्पष्ट गरिनुपर्ने बताएका छन्।

