नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो।
महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
सुरुमा एक जनाले महिलालाई होटेलमा लगेर गएको र त्यसपछि अर्को एक जनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसको भोलि पल्ट अर्थात् १३ गते महिलालाई अर्को होटेलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए। बलात्कार आरोपमा पक्राउ परेसँगै उनीहरुको बिदेश यात्रामा पूर्णविराम लाग्ने भएको छ ।
