नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्ने भएका हुन् ।
चौधरीले ‘नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी’ नामक दल दर्ता गर्न लागेका हुन् । शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेको समयमा निर्वाचन आयोग पुगेर चौधरीको वारेसका रुपमा श्रीमती रञ्जिता श्रेष्ठले दल दर्ताको निवेदन दिन लागेकी हुन् । यदि दल दर्तासम्बन्धी ऐनले आफूलाई अध्यक्ष बन्नबाट रोक लगाएमा आफ्नी श्रीमतीलाई दलको अध्यक्ष बनाउने उनको तयारी छ ।
चौधरीले नयाँ पार्टी दर्ता गरी एमालेमा जान लागेको समाचार झूटो भएको प्रतिक्रिया दिएका छन् । तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट सांसद पदमा विजयी भएका रेशमलाल चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए । कैलालीबाट राजपाले समानुपातिकतर्फ ५८ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।

