नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले नयाँ प्रतिबन्ध लगाए, त्यो ठूलो गल्ती साबित हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकी समकक्षी जो बाइडेनसँगको फोन वार्ताको क्रममा पुटिनले यस्तो चेतावनी दिएका हुन्।
पछिल्लो समय युक्रेनको विषयमा पश्चिमा मुलुक र रुसबीच जारी तनावको बीच दुवै मुलुकका राष्ट्रपतिबीच विहीबार फोनवार्ता भएको हो। अमेरिकी राष्ट्रपति बाइडेनले पनि रुसले युक्रेनमाथि कुनै पनि किसिमको आक्रमण गरे त्यसको तत्काल जवाफ दिने बताएका छन्।
रुसको आग्रहमा डिसेम्बर महिनामै दोस्रोपटक दुई मुलुकका प्रमुखबीच वार्ता भएको हो। विहीबारको फोनवार्ता करिब एक घण्टासम्म चलेको थियो। रुसले विहीबार भएको फोनवार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएको छ।
रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेको पश्चिमा मुलुकको आरोप छ। त्यससँगै रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको पश्चिमा मुलुकको भनाइ छ। सोही तनाव कम गर्ने उद्देश्यका साथ बिहीबार पुटिन र बाइडेनबीच फोनवार्ता भएको हो।