मन्त्री आलेले पर्यटन बोर्डका सिईओ रेग्मीलाई साँढेको संज्ञा दिएपछि…

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका निलम्बित सिईओ धनन्जय रेग्मीलाई साँढेको संज्ञा दिएका छन् । आज (शुक्रबार) पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा उनले रेग्मीलाई साँढेको संज्ञा दिएका हुन् ।

मन्त्री आलेले यस्ता साँढे रहुन्जेल बोर्ड चल्न नसक्ने बताएका छन् । विमानस्थलमा रक्सिको विषयमा झगडा गरेको भन्दै सरकारले उनलाई निलम्बन गरेको छ । त्यस्तै उनको कार्यशैलीमाथि प्रश्न उठाँउदै मन्त्री आलेले यस्ता साँढे कर्मचारीको कारण संस्थानहरु घाटामा चलिरहेको बताए ।



हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलाको कुरा उठाउदै मन्त्री आलेले रेग्मीका कारण नेपालको बेइज्जत भएको टिप्पणी गरे । मन्त्री आलेले भने,’ लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सिईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्नेमात्र रहेछ । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइन । त्यो त मुलुकुकै बेइज्जत भयो । यस्तो साँढेलाई सिईओ बनायो भने संस्था चल्छ ?’ त्यस्तै मन्त्री आलेले अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए ।

‘सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा बसे । हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ ।आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ’ मन्त्री आलेले भने । मन्त्री आलेले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’ उनले लन्डमा आफूले व्यक्तिगत खर्च गरेको बताए । तर, बोर्डमा रेग्मीले ८० लाख खर्च भएको बिल पेस गरेको भनेको सुन्दा आफू अचम्ममा परेको आलेले बताए ।

सम्बन्धित समाचार