नयाँ नेतृत्व चयनका लागि माओवादीमा रस्साकस्सी, स्थायी कमिटी बैठक जारी

पार्टीको आठौं महाधिवेशन भइरहेको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक आज बिहान ८:३० बजेदेखि बसिरहेको हो। आज नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र गम्भीर छलफलमा जुटेको हो।

अहिले बिहान ११ बजे बन्दसत्र सुरु हुँदै छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन लम्बिएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन बाँकी भएकाले महाधिवेशन लम्बिएको हो।



माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अहिले बिहान ११ बजेपछि बन्दसत्र प्रारम्भ हुनेछ। विधान मस्यौदामा उठेका जिज्ञासामा नेता देवप्रसाद गुरुङले जवाफ दिएपछि पारित गर्ने कार्यसूची छ। विधान पारित भएपछि मात्रै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

सुरुमा सदस्य मात्र भनेर केन्द्रीय कमिटी चयन गर्ने र त्यसले पछि पदाधिकारी छनोट गर्ने माओवादी केन्द्रको तयारी छ। माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।

सम्बन्धित समाचार