माओवादी केन्द्रको विधान पारित, सहमति नजुटेपछि मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान पारित भएको छ। विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएसँगै विधान पारित भएको हो। सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको छ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने भएका छन्। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनीत गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।



महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

महाधिवेशन अन्तर्गतको बन्दसत्र दुई घण्टाको लागि स्थगित भएको छ। क्लस्टर र भूगोलमा कुरा नमिलेपछि सहमतिको लागि बन्दसत्र दुई घण्टाका लागि स्थगित गरिएको हो। सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार