नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएर पठाउने गरेका छन् ।
पछिल्लो पटक रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए । उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए ।
राष्ट्रियसभा निर्वाचनमात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए । देउवालाई भेट्न कांग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्वसभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरु भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसीलगायतका नेता बालुवाटार पुगेका थिए ।
देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै कांग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

