मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दीक्षालाई

दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा काठमाडौंको बाफलकी दीक्षाले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् ।

विजेता भएसँगै दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यसै वर्षदेखि ‘वाइवाइ मिसेस नेपाल वल्र्ड’को विजेतालाई ‘मिसेस वल्र्ड’मा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता रहने बताए ।



प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ भए । उनीहरूले सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउनेछन् । उषाले ‘रियो मस्ट ट्यालेन्टेड’ र ‘सिजी सिमेन्ट मस्ट बोल्ड’को उपाधि पनि जितिन् ।

प्रतियोगितामा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक थिए । कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाएकी अभिनेत्री गौरी मल्ललाई ‘मानार्थ एमएस नेपाल’ उपाधिबाट सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार