यी तीन नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन नेतालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

आज (आइतबार) देउवाले १४ औं महाधिवेशनमा पराजित भएका प्रदीप पौडेल, जीवनबहादुर शाही र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । महाधिवेशनमा पौडेल महामन्त्रीमा, शाही सहमहामन्त्रीमा र गुरुङ सभापति पदमा उम्मेदवार थिए ।



यसअघि देउवाले हिजो (शनिबार) १० जनालाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित भएका थिए । यस्तै विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार