नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको हो ।
आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्याक्वैटमा बसेको बैठकमा अहिलेको अवस्थामा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए ।
श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । ज्येष्ठ सदस्य दीननाथ शर्माको अध्यक्षतामा आज बसेको नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठकले अध्यक्षमा अरुको उम्मेदवारी नपरेपछि पार्टी अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएको बताए ।

