नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।
बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेताहरु वर्षमान पुन र ओनसरी घर्तीसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने बताए ।स्वास्थ्य उपचारका लागि हाल चीनमा रहेका पुन र उनकी पत्नी ओनसरी घर्ती मंगलबार नेपाल आउने र त्यसपछि उनीहरुसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने अध्यक्ष प्रचण्डले बताए ।
स्रोतका अनुसार चीनमा उपचाररत वर्षमान पुनले प्रचण्डलाई फोन गरेर जनार्दन शर्मालाई महासचिव बनाए आफूलाई मान्य नहुने बताएपछि पदाधिकारी चयन प्रक्रिया रोकिएको हो ।

