नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई भोलिदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अतिरित्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू प्रयोग गरिरहेका बिरामीले पाउने छन् ।
यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि जुन खोप लगाएको हो, अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ ।
यो खोप बुस्टर डोज नभइ कमजोर स्वास्थ्य भएका व्यक्तिलाई दिने अतिरिक्त मात्रा भएको पनि मन्त्रालयले जनाएको छ ।