राष्ट्रिय सभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।

उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।



सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् ।

सम्बन्धित समाचार