नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । सोमबार राति भएको खेलमा युनाईटेड उल्भ्ससँग १–० ले पराजित हुन पुग्यो ।
युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८२ औं मिनेटमा उल्भ्सका लागि जोआओ मौटिन्होले गोल गर्दै पाहुना टोलीलाई १-० को जित दिलाए । यद्यपि घरेलु टोली युनाईटेडले गोल गर्ने केही सुन्दर अवसर खेर फाल्दा घरेलु मैदानमा पराजित हुन वाध्य भयो ।
हारसँगै युनाईटेड १९ खेलबाट ३१ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने समान खेलमा २८ अंक जोडेको उल्भ्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।