नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालापक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सघाएको ठहर गरेको छ। मंगलबार अनुपम फुडल्याण्डमा बसेको शेखरपक्षका शीर्ष नेताको बैठकले पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको हो।
सभापति देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ। राष्ट्रिय सभाको निर्वाचनमा दलबाट बनाइएका उम्मेदवारका विषयमा पनि सल्लाह नभएको नेताहरूको गुनासो थियो।
मंगलबारको बैठकमा कोइरालाका साथै महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी थिए। १४औं महाधिवेशनमा उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल पनि बैठकमा सहभागी भएका थिए।

