मेरो इम्युन सिस्टम शून्य भएपनि मलाई कोरोनाले छोएको छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका हुन् ।

आज (बुधबार) संस्कृति बचाउ अभियानले ओली निवास बालकोट गएर उनलाई भेटेका थिए । ओलीले इम्युन सिस्टम शून्य रहे पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको बताए । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए ।



‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

उनले पछिल्लो समय आफूमा स्मरण शक्ति पनि कमजोर हुँदै गएको भन्दै भने ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ ।’ ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे । त्यस्तै ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार