नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्यकको हत्या घटनाका अभियुक्त रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ।
सुन तस्करी र शाक्य हत्या प्रकरणका ‘मुख्य नाइके’ गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई विहीबार मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेर थुनछेक आदेश जारी गरेको हो। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले यस्तो आदेश जारी गरेको हो।
रमेशलाई केही दिन अगाडि मात्रै प्रहरीले संयुक्त अरब ईमिरेट्सको दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। रमेशविरुद्ध संगठित अपराध, अवैध सुन चोरी निकासी गरी राजस्व छलि गरेको तथा सनम शाक्यको हत्या गरेको अभियोग लगाइएको थियो। मुख्य नाइके भनिएका गोरे भने दोषी ठहर भइ जेलमा छन्।
