नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक एक हजार धरौटीमा छुटेका छन्। भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।
हुसेनलाई निर्मला प्रकरणमा नभई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरूले त्यसवेला बयान दिएका थिए। त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो। प्रहरीले अझै पनि निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन।
