राष्ट्रियसभा निर्वाचन : उम्मेदवारमाथि परेन एउटा पनि उजुरी

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४३ जना मध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको थियो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको जानकारी दिए । निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार गत मंगलबार परेको उम्मेदवार मनोनयन दर्ता अन्तर्गत ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।



निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् । प्रदेश अनुसार प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन सदस्य निर्वाचित हुनेछन् । त्यस्तै आज उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित समाचार