नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

नेकपा एमालेको जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका निम्ति प्रतिकूल आउने बताए। यो ताजा जनादेशबाट आएका प्रतिनिधिहरुबाट छनोट हुने निर्वाचन नभएकाले नतिजा एमालेको विपक्षमा आउन सक्ने उनको भनाइ थियो।
ओलीले भनेजस्तै माघ १२ गते १९ राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ। सातमध्ये ६ प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनका उमेदवारहरुले जित्ने करिब निश्चित जस्तै देखिएको छ। बाँकी एक नम्बर प्रदेशमा पनि राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन नगरेको अवस्थामा त्यहाँ पनि एमाले पराजित हुने देखिएको छ।
राष्ट्रिय सभा चुनावका लागि २ हजार २५ जना मतदाता छन्। जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ। यो चुनाव सबैभन्दा चुनौतीपूर्ण एमालेका लागि बनेको छ।
ओलीले भनेजस्तै माघ १२ गते १९ राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा एमाले करिब ‘निल’ हुने सम्भावना बलियो बन्दै गएको छ।

