नेपाल आयल निगममा पौडेलको सकारात्मक सन्देश

अन्ततः नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी यही पौष २३ गतेबाट विदा भएका छन् । ०७५ साल पौष २३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट पौडेल निगमको कार्यकारी निर्देशक पदमा नियुक्ति भएका थिए । उनी पेशाले चार्टर्ड एकाउण्टेण्ट हुन् ।

पौडेल यसअघि उदयपुर सिमेन्ट कम्पनीमा महाप्रबन्धक थिए । डुब्न लागेको उदयपुर सिमेन्ट कम्पनीलाई सरकारले निजीकरण गर्नैलाग्दा पौडेलको नियुक्ति भएको थियो । उनले त्यस संस्थालाई पुनर्जीवन मात्र दिएनन्, नाफामूलक बनाउन पनि सफल भए । उदयपुर सिमेन्टमा उनले गरेको काम मूल्याङ्कन गरेर केपी ओली सरकारले उनलाई पुरस्कार स्वरूप आयल निगमको जिम्मेवारी सँभाल्ने अवसर प्रदान गर्यो ।
पौडेलको आयल निगमको ३ वर्षे कार्यकाल कस्तो रह्यो भन्ने बारेमा समग्र समीक्षा हुन बाँकी नै होला तर उनी आफ्नो कार्यकालसम्पन्न गरी विदा भएका छन् । आम जनताको नजरमा उनी कति सफल भए त्यसको पनि लेखाजोखा होला तर कम्तिमा पनि उनी अघिल्ला कार्यकारी प्रमुखहरूजस्तो चरम विवादमा भने फँसेनन् वा त्यस्ता विवादित कामहरूबाट बच्न उनी सफल भए ।



निगम स्रोतका अनुसार उनी संस्थाको हितका लागि अहोरात्र खट्ने गर्थे । उनले निगमभित्रका धेरै प्राविधिक र व्यवस्थापकीय कार्यमा सुधार गरेका छन् । उनको सक्रियतामा झापाको चारआलीदेखि भारतको सिलिगुडीसम्म पेट्रोलिय पाइपलाइन बिच्छ्याउने कार्य, थानकोट डिपोलाई स्तरोन्नति गर्ने कार्य, पेट्रोलियम भण्डारण गृह निर्माणदेखि लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडानलगायत धेरै कार्यहरू गरेर निगममा सकारात्मक सन्देश छोड्न सफल भएका छन् ।

पौडेलले निगमबाट विदा लिँदै गर्दा फेसबुकमा भावुक स्टाटस लेख्दै सहयोगी हातहरू र सहृदयी मनहरूप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्–नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रूपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केवल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुनदृष्टि र अभीष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ । २०७५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले मलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरी ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ । यस क्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिनँ, यसको समग्र मूल्याङ्कन गर्न इतिहासलाई छाडेको छु ।

समग्र इन्धन आपूर्तिको संवेदनशील निकाय निगमको नेतृत्वका लागि मलाई योग्यतम ठानेर विश्वास गर्नु हुने तत्कालीन प्रधानमन्त्रीज्यू र उहाँको नेतृत्वको मन्त्रिपरिषद्का साथै निरन्तर साथ, सहयोग र भरोसा गर्नुहुने वर्तमान प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका साथै इन्धन आपूर्तिमा अहोरात्र खटिने मेरा सहकर्मी साथै मजदूर साथीहरू, निगमको विवशता र संवेदनशीलता बुझेर सात्विक सूचना सम्प्रेषण गरिदिनु हुने प्रबुद्ध पत्रकार साथीहरू, व्यवसाय र मुनाफाभन्दा माथि उठेर सेवाभावले लाग्नुहुने समस्त इन्धन र ग्याँसका आपूर्तिकर्ता साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

विश्वव्यापी बहावका स्वाभाविक असर स्वरूप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार हल्ला र राजनैतिक विषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथाशीघ्र समाधानउन्मुख समाधान खोज्न सुझावसहित अत्यावश्यक समग्र इन्धन र ग्याँस आपूर्तिको नवीन चुनौतीलाई सफलतम् मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना दिँदै विदा चाहन्छु ।

 

सम्बन्धित समाचार