नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-७ गोतामथोस्थित घरको पिँढीमा सोही ठाउँमा काम गरी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट घर भएका ४८ वर्षीय बद्री प्रसाद घिमिरे आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-११ स्थित कडेनि झोडनी सामुदायिक बनमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक छेउमा सोही क्षेत्रमा मागी खाई हिँडने गरेका पाल्पा शान्ति नगरपालिका-९ घर भएका ३३ वर्षीय शंकर पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईट डेरा गरी बस्ने काभ्रे रोसी गाउँपालिका-१० वाल्टिङ घर भएका ४२ वर्षीय विवेक तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । विगत ३ महिनादेखि सोही ठाउँमा खाजा घर संचालन गरी बस्ने उनी शनिबार राति खाना खाई सुतेकोमा बिहान मृत फेला परेका हुन् ।
यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-६ झोडा बस्ने ४९ वर्षीय राम प्रसाद चापागाई आफ्नै घरदेखि २ सय मिटर टाढा कल्भर्डको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
